
देशमा नीतिगत स्थिरता हुनुपर्छ : विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताएका छन्। महामन्त्री शर्माले संसदको स्थिरता सँगसँगै देशमा नीतिगत स्थिरता पनि आवश्यक रहेको बताएका हुन्।
उनले आगामी पाँच वर्ष संसद स्थिर रहने भए पनि सरकार अस्थिर रहने अवस्था रहेको उल्लेख गर्दै नेपालले नीतिगत सुनिश्चितताको बाटो रोज्नुपर्ने बताए। सरकार फेरबदल भइरहे पनि देशले हिँड्ने बाटो स्पष्ट हुनुपर्ने उनले बताए।
देशमा सम्भावनासँगै चुनौती पनि रहेको उनले उल्लेख गरे। देशमा राम्रा काम भए पनि राजनैतिक अस्थिरताले सबैलाई विद्रोही बनाएको उल्लेख गरे।
अहिले देशले भोगेको आर्थिक मन्दी र राजनैतिक उत्तारचढावले झनै चुनौती थपेको महामन्त्री शर्माले बताए। संविधान स्थिर भए पनि त्यसले बनाउने सरकार स्थिर हुन नसक्ने यथार्थ नेपालमा रहेको उल्लेख गर्दै देश विकासमा नीतिगत स्थिरता दिन सके सरकारहरू बदलिए पनि समग्र विकासमा असर नपर्ने उनको भनाइ छ।
न्युज एजेन्सी नेपालको विशेष श्रृंखला ‘मेरो विचार, मेरो दृष्टिकोण’ को लागि कुरा गर्दै उनले देशको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि नीतिगत सुनिश्चिता गर्नुपर्नेमा जोड दिए। उनले मन्त्री फेरिएसँगै देशको नीति बदलिन नहुने बतए। नेपालले छिमेकी मुलुकहरू चीन र भारतका साथसाथै अमेरिकासँग समेतको सम्बन्धलाई एक ठाउँमा गाँसेर जान जरुरी रहेको बताए।
महामन्त्री शर्माले देशभित्रको औद्योगिक विकास र व्यावसायिक वातावरण निर्माण गर्न सरकार नीतिगत रूपमा सहज बनिदिनुपर्ने बताए।सरकारले सबै कुरा आफैँले ओगटेर राख्ने भन्दा पनि निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी खुकुलो बन्न आवश्यक रहेको बताए।
प्रतिक्रिया