नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौै रुपैयाँ असुल गरेको प्रकरणमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी पक्राउ परेका समाचार प्रकाशित भइरहे पनि यस विषयमा प्रहरीले पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम अर्यालले रायमाझी पक्राउ नपरेको पर्दाफासलाई बताए।

‘रूपन्देही प्रहरीले उहाँलाई पक्राउ गरेको छैन,’ उनले भने।

यस प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन्।

बुधबार पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध पनि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बुधबार नै अनुमति प्रदान गरिसकेको छ।

पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई मंगलबार नै पक्राउ थिए। उनी यस योजनाका नाइके भएको दाबी गरिएको छ। उनका छोरा निरज राईविरुद्ध मंगलबार नै पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन्।

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापाविरुद्ध पनि बुधबार पक्राउ पुर्जी जारी भएको छ। उनी पक्राउ परेका छैनन् यद्यपि यसमा आफ्नो संलग्नता नरेहेको दाबीसहित उनले अनुसन्धान प्रक्रियमा सहयोग गर्ने वक्तव्य जारी गर्दै बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *