नेपाल र यूएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि बिहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो ।

खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक/एक विकेट रह्यो ।

यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रूपमा फाइनलमा पुगेको हो । साथै यूएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *