आवेदकको डाटा हराएपछि पुनः दरखास्त आह्वानको प्रक्रियामा लोकसेवा
लोकसेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्यांक (डाटा) हराएपछि पुनः दरखास्त आह्वानको प्रक्रिया सुरु गर्ने भएको छ ।
आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मंसिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त आह्वान प्रक्रियामा रहेको छ ।
याे पनि – लोकसेवासहित ६० सरकारी वेबसाईटका डाटा गायब, आयोगको परिक्षा अवरुद्ध हुनसक्ने
अघिल्लो वर्ष मंसिरमा प्रकाशित राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सोसरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सोसरहको र स्वास्थ्य सेवातर्फ पाँचौं तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणमा पहुँच पाउन नसकेको आयोगले जनाएको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गरी उक्त विज्ञापनका परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशीघ्र नयाँ परीक्षा प्रकाशन गर्ने प्रक्रियामा आयोग रहेको उल्लेख गरेको छ । अघिल्लो वर्ष फागुन २३ गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको थियो ।
प्रतिक्रिया