एमाले निकट युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ ।
शनिबार अपराह्न काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता-कार्यकर्ताहरूले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री दाहालको पुप्ला दहन गरेको हो ।
त्यस क्रममा उनीहरूले लडाकुको नाममा अर्बौं घोटाला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधीबेरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य पार्ने युवा संघ, नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।
राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहतस्वरूप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
प्रतिक्रिया