
भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव अस्वीकार्य : महामन्त्री शर्मा


सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन्।
सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको सो पाँच वर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने उनले बताएका हुन्।
नेपाल विद्यालय कर्मचारी परिषदले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव सिंगै देशलाई मान्य नहुने पनि बताए। महामन्त्री शर्माले भ्रष्टहरूलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने पनि बताए।
उनले भ्रष्टाचारीलाई कडाभन्दा कडा ढंगले कानूनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराए।
महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिए। उनले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए।
प्रतिक्रिया