छोटे राजाहरू खोकी लाग्दैमा विदेश जान थाले : प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताएका छन्।

शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताएका हुन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेलको नेपालमा नै उपचार हुन सक्ने अवस्थमा करोडौं खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए। उनले वर्तमान नेताहरूलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाए।

उनले नेताहरूलाई करोडौं रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर र आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ भन्दै प्रश्न गरे। उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हितका लागि मात्रै केन्द्रित भएको बताए।

उनले भने, ‘हाम्रो राज्यले नेपालमा नै उपचार हुन सक्ने थुप्रै मान्छेहरूलाई, नेपालका छोटे राजाहरू भन्नुस् न। छोटे राजालाई करोडौं करोड खर्च गरेर विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौं नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔं भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो? जनतासँग प्रतिबद्ध राज्य भनेको यही हो? अहिलेको राज्यसत्ता मूलतः केही सानो जमातको हितको लागि मात्रै भयो।’

उनले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहित गरिरहेको आरोप लगाए। पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउन सक्ने सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिनँ भन्नु नाटक भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *