नेपालमा करिब १० अर्ब लगानी गर्दै डाबर नेपाल

बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले नेपालमा करिब १० अर्ब रुपैयाँ थप लगानी गर्ने भएको छ।

निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि पुनर्लगानीका रूपमा डाबर नेपालले उक्त लगानी गर्ने भएकाे हाे। यसका लागि आज लगानी बोर्ड नेपाल र डाबर नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

लगानी बोर्डको कार्यालयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

डाबर नेपालले पेस गरेको क्षमता अभिवृद्धि र विविधीकरणसम्बन्धी परियोजना प्रस्तावअनुसार ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी हुने भएको हाे।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणका लागि लगानी बोर्डको २०७८ माघ २५ मा सम्पन्न ४९ औं बैठकले लगानी स्वीकृत गरेको थियो।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् डाबर नेपाल प्रालिका बिजनेस हेड वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको विचार व्यक्त गरे।

त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपाल प्रालिका तर्फबाट हुन लागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले डाबर नेपालको पुनर्लगानीले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहित हुने भन्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेका लगानीकर्ताबाटै सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिन सक्ने धारणा राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर