सीसीटीभी जडान गर्न बूढानीलकण्ठ नगरपालिकाले उपत्यका प्रहरीलाई ५ करोड दिने

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सीसीटीभी क्यामेरा जडान, सञ्चालन, मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बूढानीलकण्ठ नगरपालिकाको कार्यालय, हात्तीगौंडामा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरे।

बूढानीलकण्ठ क्षेत्रभित्र शान्तिसुरक्षा, अमनचयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रिकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सीसीटीभी जडानका लागि दुवै पक्षबीच सम्झौता भएको हो।

बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडानका लागि लागत इस्टिमेटबमोजिम ५ करोड रुपैयाँको बोलपत्र आव्हान गरी चालु आर्थिक वर्ष २०७९/०८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्कीबापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौताबमोजिम हुने बाँकी रकम आगामी आव २०८०/०८१ मा भुक्तानी हुने गरी बूढानीलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ। साथै सीसीटीभी जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने संख्या निर्धारण गरिने समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ।

सो  अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले सीसीटीभी जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचानलगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए। आगामी दिनमा शान्तिसुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उनले उल्लेख गरे।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीले सीसीटीभी जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवं नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताए। सीसीटीभी जडानपश्चात् त्यसको उचित रेखदेख र मर्मत सम्भार पनि हुनेपर्नेमा जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने उनले बताए।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम आर्यालले सम्झौताको महत्त्व, प्रभावकारी उपयोगसम्बन्धी जानकारी गराए।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर