गोरखा भूकम्पको ८ वर्ष : अझै बनेन स्मृति उद्यान

गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पको आज आठ वर्ष पूरा भएको छ।

विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए।

भूकम्पमा परी गोरखाका मात्र चार सय ७१ जनाको निधन भएको थियो।

भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्‍यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन।

विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जिनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए।

सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ। ‘स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ। त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम पनि सम्पन्न भएको छ,’ उनले भने।

उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए।

उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ।

त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङ स्थलसमेत निर्माण गरिएको छ।

सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचा लगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए।

उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने पङ्गेनीको भनाइ छ।

‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ। गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो,’ उनले भने।

उद्यान निर्माणको जिम्मा स्वच्छन्द-होम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो। निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उनले बताए।

पछिल्लो पटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ। उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए।

ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिक लगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए।

उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए।

निर्माणमा ढिलाइ हुँदा सुरुमा १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ रुपैयाँ पुगेको उनले बताए।

बारपाक सुलिकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ। गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भट्टले बताए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर