हिमालयन बिरुद्ध फेरि सुरु भयो अर्को ‘फण्डा’
नेपालमा सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँगै अर्को स्टक एक्सचेन्ज ल्याउन बहस सुरु भएको डेढ दशकपछि तेस्रो पटकको प्रयासमा नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन माग गरेको छ । यसअघि २०६६ र २०७० मा बोर्डले आवेदन मागगरेपनि नीति नियम र सरकारको असहयोगका कारणपछि हटेको थियो ।
त्यसबेला दुबै पटक आवेदन दिएका कम्पनीहरुको प्रक्रिया सरकारपछि हटेसँगै स्वतः खारेज भएका थिए ।
हाल नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया सुरु भएको छ। त्यो पनि अघि बढ्ने वा नबढ्ने टुंगो छैन। यद्यपि, बोर्डले असोज २ मा सार्वजनिक सूचना निकाल्दै धितोपत्र बजार सञ्चालन गर्न संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि ४५ दिनभित्र आवेदन दिन भनेपछि पुँजीबजार थप प्रतिस्पर्धी हुने अडकलबाजी भइरहेका थिए।
त्यसैगरि बोर्डले धितोपत्र दलाल (ब्रोकर) तथा धितोपत्र व्यापारीका लागि ३० दिन र दुई वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन गर्न कम्पनी स्थापना अनुमति लिन ४५ दिन समयसिमा तोकेर आवेदन माग गरेकोमा सर्वोच्च अदालतमा मुद्धा परेका कारण रोकिएको प्रक्रिया पुनः सुरु भएको छ।
सर्वोच्चले दुई छुट्टाछुट्टै निवेदन ९रिट०लाई खारेज गरेसँगै नयाँ स्टक एस्चेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण गर्न खुलेको हो। त्यसैअनुरुप नेपाल धितोपत्र बोर्डले २०७९ चैत ३० गते १० दिनको समयसीमा तोकेर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि पुनः आवेदन माग गरेको छ भने ब्रोकरका लागि यसअघिकै प्रक्रियालाई निरन्तरता दिने बताइएको छ।
आइतबारसम्म नेसनल स्टक एक्सचेन्ज लिमिटेड, हिमालयन स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यी तीन कम्पनीमध्ये हिमालयनमा शंकर समूहसहित अधिकांश स्थापित व्यवसायिक समूह लगानीकर्ता रहेका छन् ।
हिमालयन स्टकमा मुख्य लगानीकर्तामा शंकर समूहका शंकर अग्रवालसहित नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, खेतान समूहका राजेन्द्र खेतान, लक्की ग्रुप, व्यवसायी दीपक भट्ट, मित्सुविसी मोटर्सका आशिष श्रेष्ठ, ज्योती समूहका शौरभ ज्योती, जुनी गुरुङ, विवेक दुगड, भवानी राणा र अमित मोरलगायतका व्यक्तिको मुख्य लगानी रहेको छ ।
यस्तै सिद्धार्थ ग्रुप, केडिया ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका तर्फबाट जीवा लामिछाने, अग्नि ग्रुप र रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेशनल र क्याप्टेन रामेश्वर थापा प्रमुख लगानीकर्ता रहेको अन्नपूर्णको आवेदन परेको छ । र आवेदन दिने आइतबार अन्तिम समयसीमा रहेको थियो ।
यसरी तीन कम्पनीको आवेदन परेपछि केही अमूक समूहहरुले पहिलो पटक आवेदन दिएको तर दोस्रो पटक आवेदन समेत नदिएको एउटा कम्पनीसँग नाम जुधेको विषयलाई लिएर हिमालयन लक्षित प्रचारबाजी र नियोजित आक्रमण सुरु गरेका छन् ।
तत्कालिन समयमा विकास बैंकहरुसहितको समूहले २०६६ मा दिएको आवेदनका विषयलाई यतिबेला प्रचारबाजी सुरु भएको हो । त्यसबेला सोही कम्पनीमा रहेका एकजना जानकारका अनुसार आवेदन दिने तत्कालिन विकास बैंकहरु अधिकांश हाल निजी बाणिज्य बैंकहरुसँग मर्जर भएका छन् । केही ठुला बैंकमा समाहित भएका छन् ।
नियम अनुसार कम्पनी रजिष्टरको कार्यालयमा दर्ता समेत नरहेको कम्पनीले हाल सुचारु रहेको प्रक्रिया अवरुद्धगर्दै स्थापित समूहलाई भाजो हाल्न लागिपरेको ती जानकारले बताए ।
उनको तर्क थियो, ‘त्यसबेला दिएको आवेदन त दोस्रो पटक आवेदन मागगरेसँगै बोर्डले खारेज गरेको हो, दोस्रो पटक आवेदन समेत नदिएको कम्पनीले हाल आएर अस्तित्व दाबीगर्नु नियोजित प्रचारबाजी र च्याखे दाउ बाहेक केही होइन।’
तत्कालिन समयमा हाल महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई लगायतका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ स्टक एक्सचेन्जका लागि निवेदन दिएका थिए ।
तत्कालिन समयमा निजी क्षेत्रलाई पनि स्टक एक्सचेन्ज खोल्न दिने सरकारको निर्णयअनुसार विभिन्न १८ ओटा कम्पनीहरुले संयुक्त रुपमा हिमालयन स्टक एक्सचेन्जको नाममा सेबोनमा निवेदन दिएका थिए । उक्त समुहमा एशियन लाईफसहित १८ कम्पनीहरुका संचालकको लगानी रहेको थियो । ती अधिकांश विकास बैंक रहेका थिए ।
प्रतिक्रिया