उपनिर्वाचन-२०८०

चितवन-२ मा मंसिरको भन्दा कम खस्यो मत

चितवन निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको हो ।

यस क्षेत्रमा गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा भन्दा कम मत खसेको छ । उक्त निर्वाचनमा ६७ दशमलव ६३ प्रतिशत अर्थात् ८४ हजार १७ मत खसेको थियो । सो समयमा एक लाख २४ हजार दुई सय १७ मतदाता रहेका थिए ।

मतदान सकिएसँगै अहिले मतपेटिका मतगणनास्थलतर्फ लैजाने क्रम जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको जानकारी दिए ।

उपनिर्वाचनमा यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एकजना तेस्रो लिङ्गी रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले मतगणनास्थल उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा ल्याउने प्रक्रिया सुरु भएको छ । आज राति १० बजेसम्म मतपेटिका आइपुग्ने उनले जानकारी दिए ।

मतपेटिका आएसँगै राजनीतिक दलहरूको सहमतिमा आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बताए । चार स्थानमा गणना गर्न मिल्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । वैशाख १३ गतेसम्म नतिजा आउने गरी गणनाको काम गरिने उनको भनाइ छ ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर