मौलाकाली केबलकार वैशाख १८ देखि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नवलपुर जिल्लाको गैंडाकोट-१ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैंडाकोट-१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।

केबलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ ।

केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुनेछ ।

केबलकारको माथिल्लो स्टेशनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्याङ्क्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।

केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ ।

त्यसैगरी यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रालिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रूपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको वसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमुना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *