‘राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मुद्दा संसदभित्र र बाहिर पनि अझ दह्राे ढंगले उठाउँछौं’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसदभित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन्।

उपाध्यक्ष प्रधानले राजसंस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दू धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकिर गरेका हुन्।

नवलपरासीमा न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दू धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे। पूर्वकानूनमन्त्रीसमेत रहेका प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्तिसमेत जनाए।

भ्रष्टाचार नियन्त्रण गर्न, कानून निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भए पनि त्यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको उनले बताए।

उपाध्यक्ष प्रधानले दुईवटा संसदीय समितिको नेतृत्वमा आफ्नो पार्टीको दाबी रहेको बताए। संसदीय समितिमा हैसियतअनुसार सहभागी हुने उल्लेख गर्दै उनले त्यसमा पार्टीको तर्फबाट सदस्यमा सहभागिता रहने कुरा सुनिश्चित भइसकेको पनि बताए।

उपाध्यक्ष प्रधानले संसदीय समितिमा सबैले साथ दिए नेतृत्व पनि लिने, नभए समितिको सदस्यको रूपमा रहेर आफूहरूले काम गर्ने स्पष्ट पारे। उनले संसदीय समितिमा सदस्यको रूपमा रहने कुरा सुनिश्चित भएकाले नेतृत्वका लागि मरिहत्ते गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर