धुलिखेल-खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

अरनिको राजमार्गअन्तर्गतको धुलिखेलखावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी-पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ ।

पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा निर्माण सेवा तथा त्यसका सञ्चालक रामकुमार थापाले निर्माणमा ढिलाइ गरेको लापर्बाहीकै कारण धुलिखेल-खावा सडक खण्डमा यात्रु जोखिम मोलेर हिँड्न बाध्य भएको, सडकमा उडेको धुवाँले यात्रु बिमारी परेको तथा खाल्डाखुल्डीका कारण सवारीसाधन दुर्घटनामा परेपछि उजुरी दर्ता गरिएको नगर प्रमुख खरेलले बताए ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन गत चैत २९ गतेदेखि सात दिनको म्याद दिइएका थिए ।

निर्माण अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको करिब ५० प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताए ।

निर्माण व्यवसायीले सन्तोषजनक काम नगरेपछि शुक्रबार जिल्लामा बसेको सरोकारवालाको भेलाले ठेक्का रद्द गर्ने मागसहित सिफारिस गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले धुलिखेल-खावा सडक खण्डको ठेक्का रद्द गर्न माग गरेको हो । ठेकेदारले सन्तोषजनक काम नगरेपछि सम्बन्धित सरोकारवाला निकाय सडक डिभिजन कार्यालय भक्तपुरलाई उक्त सडक खण्डको ठेक्का रद्द गर्न माग गर्दै आवश्यक विषयमा सहयोग गर्ने र रद्दका लागि सिफारिससमेत गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ठेकेदारलाई एक हप्ताको अल्टिमेटम दिँदासमेत बेवास्ता गरेकाले कानुनबमोजिम कारबाहीको प्रक्रियासहित ठेक्का रद्दको माग गरिएको बताए । मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्रगतिमा कामलाई निरन्तरता नदिएका कारण कानुनबमोजिम ठेक्का सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गरिने छ । डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रिमासमेत पुगेको बताइएको छ । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।

उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको थियो ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै निर्माणको काम दुई महिनादेखि रोकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो । उक्त सडक हुँदै उत्तरी नाका तातोपानी पुग्ने गरिन्छ । यही सडक काभ्रेपलाञ्चोकबाट सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि प्रयोग हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *