पर्यटकको रोजाइमा जलविरे झरना
चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए। ‘दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्,’ उनले भने। शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ। नयाँ वर्षको पहिलो दिन एक हजार १५० जनाले टिकट काटेको तथ्याङ्क छ।
कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो। झरना रहेको वडा नम्बर ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। ‘यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्,’ अध्यक्ष गुरुङ बताउँछन्।
पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन्। केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन्। झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ। सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन्।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ। पछिल्लो ६ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कवापत १४ लाखभन्दा बढी आम्दानी गरेको गुरुङले बताए। यहाँ प्रवेश गर्न आन्तरिक पर्यटकले ५० र विदेशीले १०० रुपैयाँ शुल्क तिर्नुपर्छ।
प्रतिक्रिया