सुडान द्वन्द्वमा सुनको भण्डार कसरी बन्यो अभिशाप?
पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो देश सुडानमा गत हप्तादेखिकाे उथलपुथलका क्रममा अहिलेसम्म २७० जनाभन्दा धेरैको मृत्यु भएको छ भने २ हजार ६ सय जना बढी घाइते भएका छन्।
अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार सुडानको अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्स’ अर्थात् आरएसएफ र त्यहाँको सेनाबीचको भिडन्तका कारण यी मृत्यु भएका हुन् । दुई पक्षबीच भएका अधिकांश आक्रमणहरू राजधानी खार्तुममा भएका थिए।
अप्रिल २०१९ मा ओमार अल–बशीरको सरकार ढलेदेखि सुडान अस्थिर छ हाल जारी द्वन्द्वका पछाडि कैयौं घटना, तनाव र राजनीतिक संघर्षको लामो शृंखला छ।
हिंसाको पछिल्लो चरणको पछाडि दुई मुख्य सैन्य नेताहरूबीचको संवादको अभाव छ जो देशमा नागरिक सरकारको पुनर्थापना गर्न जिम्मेवार छन्। आरएसएफ प्रमुख मोहम्मद हमदान डगालो (जसलाई हेमेदती पनि भनिन्छ) र सेना प्रमुख जनरल अब्देल फतेह अल–बुर्हानबीचको मतभेदका कारण द्वन्द्व भइरहेको हो।
तर, यो संघर्षका धेरै कारणमध्ये सबैभन्दा ठूलो कारण ‘सुन’ हो । अफ्रिकी महादेशमा सुडानसँग सबैभन्दा ठूलो सुनको भण्डार छ।
सरकारी तथ्यांकअनुसार सन् २०२२ मा मात्रै ४१.८ टन सुनको निर्यातबाट सुडानले करिब २ अर्ब ५० करोड डलर कमाएको थियो।
देशको सबैभन्दा नाफा कमाउने सुन खानीहरू हेमेदती र आरएसएफ मिलिसियाको नियन्त्रणमा छन्, जसले बहुमूल्य धातु खार्तुम सरकारलाई मात्र होइन छिमेकी देशहरूलाई पनि आफ्नो गतिविधिमा लगानी गर्न बेच्छन्।
सुडान संकटबारे राम्ररी जानकार रहेका विज्ञ शेभिट वोल्डमाइकलले भने, ‘आर्थिक संकटसँग लडिरहेको देशको आम्दानीको मुख्य स्रोत सुन खानी हो। र, यो द्वन्द्वको बेला रणनीतिक रूपमा महत्त्वपूर्ण भएका छ।’
उनका अनुसार यो लामो समयदेखि आरएसएफको लागि एक प्रमुख आर्थिक स्रोत भएको छ र सेनाले यसलाई शंकाका साथ हेर्ने गरेको छ।
अन्धाधुन्ध सुन उत्खननले खानी वरपरका क्षेत्रमा नराम्ररी असर गरेको छ। खानी भत्किएर ज्यान गुमाउनेको ठूलो संख्या र प्रशोधनमा प्रयोग हुने पारो र आर्सेनिकले यो विनाशलाई थप गम्भीर बनाएको छ।
तर प्रश्न यो छ, सुडानको पछिल्लो हिंसामा सुन कसरी प्रमुख रणनीतिक कारक बनेको छ?
सुडान र सुन ‘अभिशाप’
सन् १९५६ मा सुडानको क्षेत्र ब्रिटिस शासनबाट स्वतन्त्र भयो, त्यसपछि एकीकरणको प्रक्रिया सुरु भयो जुन उतारचढावले भरिएको थियो।
यस अवधिमा देशले आफ्नो तेल भण्डारको बारेमा थाहा पायो र यो मुख्य आर्थिक स्रोत बन्यो।
१९८० को मध्यमा देशको दक्षिणी भागमा स्वतन्त्रताको लागि संघर्ष सुरु भयो र उक्त संघर्षपछि २०११ मा दक्षिण सुडान गणतन्त्र गठनसँगै संघषले विराम लियो।
दक्षिण सुडानको गठनसँगै कच्चा तेलको निर्यातबाट हुने आम्दानीको दुई तिहाइ हिस्सा सुडानको हातबाट बाहिर गयो।
स्रोतको अभावले देशमा रहेका विभिन्न जनजाति समूह, सशस्त्र समूह र मिलिसियाहरूबीच तनाव बढ्यो।
सन् २०१२ मा देशको उत्तरी भेगमा रहेको ‘जेबेल अमिर’ क्षेत्रमा सुनको ठूलो भण्डार फेला परेको थियो, जुन देशको आर्थिक अवस्था सुधार्न पर्याप्त थियो।
टफ्ट्स युनिभर्सिटी सुडानका विज्ञ एलेक्स डे वालले भने, ‘यो ईश्वरको देन मानिएको थियो र दक्षिण सुडानका कारण देशले गुमाएको क्षतिपूर्ति हुन सक्छ भन्ने विश्वास गरिएको थियो।’
उनी भन्छन्, ‘तर सुनको खोजी चाँडै नै अभिशाप सावित भयो किनकि यसको कब्जालाई लिएर विभिन्न पक्षबीच लडाइँ हुन थाल्यो। जसका कारण सुनको अनियन्त्रित लुटपाट सुरु भयो।’
स्थानीय रेकर्डहरू र डी वाल आफैंका अनुसार सुन खानीहरूमा आफ्नो भाग्य अजमाउन हजारौं मानिसहरूको भिड उक्त क्षेत्रमा लाग्न थाल्यो।
केही मानिसहरू सुन हात लागेपछि रातारात धनी भए भने केही खानीहरू भत्किँदा वा सुनलाई प्रशोधन गर्दा पारो र आर्सेनिकको विषले मरे।
सन् २०२१ मा पश्चिम कोर्डोफान प्रान्तमा सुन खानी भत्किँदा ३१ जनाको मृत्यु भएको थियो। मार्चमा नै अर्को खानी भत्किँदा १४ जनाको मृत्यु भएको थियो।
सन् २०२० मा सुडान युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले खानी नजिक रहेको पानीका स्रोतहरूको अध्ययन गर्याे।
यसअनुसार यहाँ पानीमा पाराको स्तर २००४ पीपीएम (पार्ट्स प्रति मिलियन) र आर्सेनिकको स्तर १४.२३ पीपीएम रहेको पाइएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार पानीमा पाराको स्वीकार्य स्तर १ पीपीएम र आर्सेनिक १० पीपीएम छ।
खार्तुम विश्वविद्यालयमा वातावरणीय कानून पढाउने प्राध्यापक अल जिली हामुदा सालेहका अनुसार ठूलो मात्रामा पाराे र आर्सेनिकको प्रयोगले निश्चित रूपमा देशमा वातावरणीय विपत्ति ल्याउनेछ।
उनले भने, ‘देशमा ४० हजार सुन खानी स्थल छन्। देशका १३ प्रान्तमा ६० वटा सुन प्रशोधन गर्ने कम्पनी छन्, जसमध्ये १५ दक्षिण कोर्डोफानमा मात्र छन्। वातावरणीय मापदण्ड नमान्ने भएकाले केही परिवर्तन भइरहेको छैन।’
अल बशीरका समर्थक एक चर्चित आदिवासी नेचा मुसा हलिलले एक विशेष जनजातिको सामूहिक नरसंहार गरी यो क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए। यस नरसंहारमा यस क्षेत्रमा बसोबास गर्ने ८०० मानिसहरू मारिएका थिए।
हलिलले सुनको उत्खनन र बिक्री सुरु गरे। उनका ग्राहकहरू खार्तुमको सरकार मात्र नभई अन्य खरिददारहरू पनि थिए।
मानवता विरुद्धको अपराधको आरोप लागे पनि हलिल २०१७ मा पतन भयो। त्यसपछि आरएसएफ नेता हेमेदतीले कब्जा गरे।
त्यतिबेला देशको कुल निर्यातमा सुनको हिस्सा ४० प्रतिशत थियो।
लोकतन्त्रको बाटो
सत्य यो हो कि २०१९ मा सैन्य कूद्वारा ओमर अल–बशीरको सरकार ढालिएपछि देश दुई प्रमुख व्यक्तिहरू हेमेदती र अल–बुर्हानको हातमा पुग्यो जोसँग सशस्त्र समूहहरू थिए।
सन् २०२१ मा दुई नेताहरू सुडानमा नागरिक सरकार गठनका लागि मार्गप्रशस्त गर्ने वार्ता सुरु गर्न सहमत भए।
वोल्डमाइकल भन्छन्, ‘जब यो गत डिसेम्बरमा सहमति भएको थियो, यो स्पष्ट थियो कि सुनका सबै उत्पादन निर्वाचित सरकारलाई हस्तान्तरण गरिनेछ। तर हेमेदतीको बढ्दो शक्तिलाई ध्यानमा राख्दै अल–बुर्हान नजिकका मानिसहरूले आरएसएफका गतिविधिहरू नियन्त्रण गर्न सेनालाई सल्लाह दिए।’
यद्यपि उनी भन्छन् कि सुन खानी नियन्त्रणका लागि उत्तरी सुडानमा धेरै अन्य सेनाहरू पनि सक्रिय छन्।
‘यही कारण थियो कि अल–बुर्हान–नियन्त्रित सेनाले आरएसएफलाई नियन्त्रण गर्नका लागि व्यापक राजनीतिक संक्रमणभित्र सुरक्षा सुधारको लागि वार्ता गर्ने प्रयास गर्याे, जसका शर्तहरू हेमेदतीलाई स्वीकार्य थिएनन्,’ वोल्डमाइकल भन्छन्।
गत सप्ताहन्तमा हिंसा भड्किनुको मुख्य कारण यो पनि हो। तर, देशलाई अस्थिर बनाउन अन्य शक्तिहरू पनि संलग्न छन् ।
उनी भन्छन्, ‘लिबियामा लडाइँ शान्त भएपछि, त्यहाँ लडिरहेका डार्फर लडाकुहरू फर्कने र सुन खानीलगायत अन्य स्रोतहरूमाथि नियन्त्रणका लागि लडाइँ चर्किने डर थियो।’
विश्लेषकहरू भन्छन् कि देशमा शान्ति धेरै बलियो अन्तर्राष्ट्रिय दबाबमा निर्भर गर्दछ।
वोल्डमाइकल भन्छन्, ‘कुनै पनि पक्षले पूर्ण जित हासिल गर्न सक्छ भन्ने निश्चित छैन। त्यसैले दुवै पक्षको हताहती बढ्नेछ र यसका कारण घरेलु तथा अन्तर्राष्ट्रिय दबाब बढ्नेछ। मलाई लाग्छ उनीहरू वार्ताको टेबुलमा आउनै पर्नेछ।’ –बीबीसी हिन्दीबाट भावानुवाद
प्रतिक्रिया