२ देखि १० करोडसम्मको वैदेशिक लगानी स्वीकृतिका लागि स्वचालित प्रणाली लागू गरिँदै
उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ। विभागले बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत् स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताए।
उनले अब प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवाहरु स्वाचालित बनाउने व्यवस्था गरेको बताए। उनले चालू आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत् स्वीकृत गर्न सुरु गरिएको बताए।
उनले वैदेशिक लगानी अनलाइनमार्फत् स्वीकृत गर्न सुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वाचालित बनाउने विभागको तयारी रहेको बताए। उद्दले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधानको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनको लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेको जानकारी दिए।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो। विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताएको छ।
उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैंमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक रहेको भारत,बंगलादेश लगायतका मुलुकहरुमा भएको अभ्यासले देखाएको छ।
प्रतिक्रिया