वायुसेवा निगमबाट करिब तीन अर्ब सावाँ र ब्याज भुक्तानी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब तीन अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको छ । सोही वर्षको असारमा एक अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार दुई सय एकासी, पुसमा ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमित रुपमा किस्ता तिर्न सकिएको प्रवक्ता पौडेलले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर