पर्साबाट भन्सार छलेर भारत लैजान लागेको चिनियाँ खाद्यवस्तु बरामद
६ वैशाख २०८० १९:५८
पर्सा प्रहरीले चोरी निकासी गरी भन्सार छलेर भारततर्फ लैजाँदै गरेको चिनियाँ खाद्यवस्तु बरामद गरेको छ।
बुधबार बिहान काठमाडौंबाट भारतको दिल्ली जाँदै गरेको बस चेकजाँच गर्दा बिनाभन्सार प्रज्ञापनपत्रको चोरी निकासी गरी ल्याइएको विभिन्न किसिमका चिनियाँ खाद्यवस्तु बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए।
बिहान ७:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले उक्त बस चेकजाँच गर्दा सो खाद्यवस्तु फेला परेको हो।
बरामद खाद्यवस्तुको मूल्य २ लाख ८१ हजार २५० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ। बरामद खाद्यवस्तु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी गिरीले बताए।
प्रतिक्रिया