नक्कली भुटानी शरणार्थी प्रकरण : ५ करोड बढी ठगी गरेको भन्दै थप १० जनाले दिए जाहेरी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहविरुद्ध थप १० जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रलोभनमा ५ करोड बढी रकम ठगी गरेको भन्दै उनीहरूले बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन्।

कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाहरूका १० जना पीडितहरूबाट करिब ५ करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दरखास्त परेको प्रहरी उपरीक्षक (एसपी)  साेमेन्द्रसिंह राठाैरले जानकारी दिए।

उनका अनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

उजुरी परेपछि यस प्रकरणमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको प्रहरीले गत १२ चैतमा गिरोहका मुख्य नाइके केशव दुलालसहित तीन जनालाई पक्राउ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलाल, सानु भण्डारी र टेक गुरुङलाई सबैभन्दा पहिले नियन्त्रणमा लिएको थियो।

थप अनुसन्धान क्रममा सन्देश शर्माको समेत यसमा प्रमुख भूमिका रहेको खुलेपछि उनी २९ चैतमा पक्राउ परेका थिए।

यो गिरोहले ८७५ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको खुलेको छ।

नक्कली शरणार्थी बन्न फारम भर्नुपर्ने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म असुलेको पीडितले बताएका छन्। उनीहरूले आफ्नो सम्पर्कमा आएका र उनीहरूको चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी तिनका आफन्त र नातागोतालाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनी लोभमा फसाएको पाइएको प्रहरीले जनाएको छ।

त्यसरी लोभमा फसाएर उनीहरूले भुटानी शरणार्थीको नाम दर्ताका लागि भनेर फाराम भर्न लगाएको पाइएको छ। यसरी फाराम भरेका सबै नेपाली नागरिक रहेको अनुसन्धानबाट थाहा भएको छ।

उनीहरूले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको भन्दै गृह, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णय देखाएर विश्वासमा पार्ने गरेको पनि खुलेको छ।

अमेरिका लैजाने भनेर बहानामाथि बहाना बनाएपछि मात्रै पीडितहरूले आफू ठगिएको चाल पाएका थिए। त्यतिबेला भने उनीहरूले रकम बुझाइसकेका थिए।

यस विषयमा संसदमा समेत प्रश्न उठेको छ। यसमा राजनीतिक नेतृत्वको साँठगाँठ हुन सक्ने भन्दै जतिसुकै ठूला नेताको नाम जोडिन आए पनि कारबाही गर्नुपर्ने आवाज संसदमा उठिरहेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर