नेपाल भ्रमणमा रहेका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त बनेका छन्।
सडकमार्ग हुँदै आइतबार साँझ सुदूरपश्चिमको धनगढी आइपुगेका उनी त्यहाँबाट काठमाडौं आएसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेता र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्तामा व्यस्त बनेका हुन्।
चौथाइवालेले मंगलबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।
Today in Kathmandu, I met former PM and President of @NepaliCongress Shri @SherBDeuba ji. Later on I also met DPM Shri @narayan11kaji ji and former PM Shri @ncp_madhavnepal ji. All leaders emphasized on strong India-Nepal relations and enhanced party to party interactions. pic.twitter.com/xSRK7Dxgph
— Dr Vijay Chauthaiwale (@vijai63) April 18, 2023
भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै चौथाइवालेले तीनै जना नेताहरूले भारत-नेपाल सम्बन्ध बलियो बनाउने र पार्टी-पार्टीबीचको अन्तरक्रियामा जोड दिएको उल्लेख गरेका छन्।
चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
चौथाइवाले सोमबार धनगढीमा आयोजित नेपाल-भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सहभागी भएका थिए। उक्त कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भइरहेकै बेला चौथाइवाले नेपाल भ्रमणमा आएका हुन्।
प्रधानमन्त्री प्रचण्ड यसै महिना भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणको मिति भने तय भइसकेको छैन। उनी वैशाख अन्तिम सातातिर भारत भ्रमणमा जाने सम्भावना छ। यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी थालिसकेको छ।
प्रतिक्रिया