एमालेले खोज्यो संसदमा प्रधानमन्त्री

नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल संसदबाट हराएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यंग्य गरेका हुन्।

उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद भवन नयाँ बानेश्वरमा बुझाउन पनि भनेका छन्। प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नु परेको उनको भनाइ थियो।

सांसद पन्तले भने, ‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण् । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया, पहिलेपहिले कोट पेन्ट लगाउने गरे पनि हाल दौरा, सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने। उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *