कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण हिमालको सफल आरोहण
कतारको राजपरिवारकी सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् ।
इलाइट एक्सपिडिसनमार्फत उनी शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित छ ।
पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । ‘विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ,’ उनले भने, ‘आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।’
टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णलाई सफलतापूर्वक आरोहण गरेका छन् । राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरेकी थिइन् ।
पेसाले चिकित्सक रहेकी थानीले कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गरेकी थिइन् । अन्नपूर्ण हिमाल आरोहणका लागि २०७९ फागुन २२ गते थानी म्याग्दीमा आएकी थिइन् ।
कतारको राजपरिवारको सदस्यबाट भएको अन्नपूर्ण हिमाल आरोहणले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका-४, नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।
अन्नपूर्ण प्रथम हिमालमा शनिबार बिहानदेखि चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको हो । सेभेट समिट ट्रेकका पासाङनुर्वु शेर्पाको नेतृत्वमा तीन नेपाली, एक पाकिस्तानी र एक जना अष्ट्रेलियन पर्वतारोहीले पनि शनिबार अन्नपूर्ण आरोहण गरेका थिए ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँचवटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । वि.सं. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
प्रतिक्रिया