मौरीपालनमा मोह
पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।
रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्।
घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन्।
उनको घरमा हाल मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन्। आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन्।
‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने।
गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजारमा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको मह प्रतिकिलो एक हजार एक सयमा बिक्री हुने गरेको छ। एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ। एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ।
वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन्। एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ। आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ। मौरीघार (खालीघार), गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा ६ लाखसम्म आम्दानी गर्दै आएका छन्।
उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ।’
उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन्। घरमा परम्परागत (मुढेघार) १५÷२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि उनी भने व्यावसायिक रुपमै मौरी पालनमा लागेका हुन्।
उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा सुरु गरे।
स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन्।
‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने।
उनका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ। स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ।
रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका छन्। मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ। उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन्। उनले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहेका छन्। पाठकले घार बढाउँदै गएका छन्।
‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’,उनले भने।
कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछिन्।
मौरी प्रवद्र्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन्।
उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ।
‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भनिन्, ‘व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ। ‘
प्रतिक्रिया