मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनेटमै मन्दिर पुग्न सकिने

नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए।

आज बिहान ६ बजेदेखि केबुलकार सञ्चालनमा आएको हो। केबलकारको बटम स्टेसनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए।

केबलकारमार्फत् मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला छन्।

हाल केबलकारले दुईतर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए।  उनका अनुसार केबुलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरूको लागि ४१५ रुपैयाँ, ज्येष्ठ नागरिकहरुको लागि ४१५ रुपैयाँ र फरक क्षमता भएकाहरूका लागि २७५ रुपैयाँको टिकट दर राखिएको छ।

केबुलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरूको लागि नि:शुल्क सेवा दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *