निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछु : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताएका छन् । बिहीवार महासंघको अध्यक्षको शपथ ग्रहणपश्चात् अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई पाथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिर्वतन गर्ने काम शुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताए । उनले जिल्ला नगरबाट आएको यस्ता मागहरु तत्काल समाधान गर्ने पनि बताए ।
उनले पछिल्लो समय कोरोना महामारीलगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने बताए । उनले महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष ढकालले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिवद्धता जनाए । उनले महासंघको आफ्नो कार्यकालमा केही न केही सुधार गर्ने बताए । उनले चुनावसम्म पक्ष-विपक्ष भए पनि अब सबै एक भएर महासंघलाई सुुधार गर्ने बताए ।
अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गरे । उनले निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहदा गर्नसक्ने उदाहरण बनेको बताए ।
महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन भएका हुन् । उनले आजै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षलाई पद तथा गोपनीयताको शपथपश्चात् बोल्दै निःर्वतमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका ५ प्रतिवद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया