प्रधानन्यायाधीश नियुक्तिबारे प्रधानमन्त्रीसँग बार एशोसिएशनका पदाधिकारीको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए ।
भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
संसदीय सुनुवाइ समिति गठन गर्ने विषयमा पनि बारका पदाधिकारीले प्रधानमन्त्रीसँग छलफल गरेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया