चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब
विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति १४ खर्ब एक अर्ब रुपैयाँ नाघेको छ । यही अवधिमा सरकारको चालु खाता भने ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशममलव ३ प्रतिशतले कमी आई पाँच अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब १७ करोड रुपैयाँ बराबर मात्रै छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर ७ अर्ब रहेको थियो भने १६ अर्ब ३० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति आठ महिना अवधिमा १५ दशमलव २ प्रतिशतले बढेर फागुन मसान्तसम्ममा १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२ खर्ब ४४ अर्ब ९४ करोड र बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आव २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा अहिले बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव नौ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ ।
प्रतिक्रिया