प्रधानमन्त्री सरकारको गणितीय वर्चश्वमा रमाउनुभयो : हिसिला यमी

नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन्।

सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बने पनि अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन भने नसकेको बताइन्।

उनले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गरिन्।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटक/पटक ध्यान नपुगेको हो ? भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ। तर सत्ताको नेतृत्व गर्नमा उहाँको पुगेकै छैन। नपुगेकै कारण यो जुन निवेदन आएको छ, जुन निवेदनले गर्दा आज हामी सबै एक ठाउँमा आउन पाएका छौँ। आज यो १२ वर्षको अवधिमा कयौं माओवादी पार्टीका नेताहरू कोही मन्त्री बने, कोही संघका कोही प्रदेशका मन्त्री बने। कोही मेयर, कोही उपमेयर बने। सबै केही न केही पदमा छौं, हजारौं मान्छेहरू सभासद भए तर यो विषयमा किन ध्यान गएन।’

उनले प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरूपण मेलमिलाप आयोगलाई महत्व नदिएको आरोप लगाए।

‘कांग्रेस, एमाले लगायतको त ध्यान गएन, गएन तर माओवादी पार्टी प्रचण्डको ध्यान किन गएन? किन उहाँ गणितीय वर्चश्वमा रमाउने, किन राज्य पुनः संरचनासँग सम्बन्धित जोडिएको यो आयोगलाई किन उहाँले महत्व नदिएन? मैले सुनेको छु, आयोगमा माआवादीले नै पठाएका सदस्यहरूले हामीालई उपेक्षित गरे, समय माग्दा हामीलाई समय दिएन, यही पनि अहिले जुन संशोधन विधेयक अघि बढाउनु भन्दाअघि हाम्रो सल्लाह मागेन? उहाँहरूका यसमा पनि केही आपत्ति छन्, आफ्नै मान्छेलाई किन विश्वास गरेनन्?’

उपाध्यक्ष यमीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरूपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरूलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *