रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङ श्रेष्ठले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्न नहुने बताए। उनले सांसद श्रेष्ठमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे।

त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टिम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टिम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने गुरुङले बताए।

उनले भने,‘म निवेदन गर्न चाहन्छु, त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ। त्यो कोर टिम भनेको को हो? त्यसको पनि छानबिन गर्नुपर्दैन? त्यसकारणले गर्दाखेरि यसको छानबिनका लागि आज यो संसदभित्रको एउटा प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिसनको सन्दर्भमा यो संसद चुप लागेर बस्नु हुँदैन। त्यसकारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु।’

त्यस्तै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताए।

उनले भने,‘यसमा ठूलै नेताहरूको पनि नाम जोडिएर सञ्चारमाध्यममा आइपुगेको छ। अनि ठूलालाई चैन सानालाई ऐन हुन्छ कि? होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिए पनि गृहप्रशासन काँप्नु हुँदैन। गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भए पनि कारबाहीको दायरामा ल्याउनैपर्छ। कानूनको कठघरामा उभ्याउनै पर्छ।’

सो प्रकरणमा ठूला नेताहरूको नाम जोडिएको उल्लेख गर्दै उनले जति ठूला नेताको नाम जोडिए पनि कानूनी कठघरामा ल्याउनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *