ह्याचरी उद्योगीको गुनासो- तस्करी बढ्दा नेपाल भारतीय अस्वस्थ कुखुराको डम्पिङ साइट बन्यो

भारतबाट कुखुराको मासु र अण्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका हुन्।

भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका छन्।

५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुबै संघको प्रतिनिधिले गृहमन्त्रीलाई बताएका छन्।

‘नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ। भारतीय सीमा नाकाहरूवाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहुँ भित्रिँदा यस पेशालाई अत्यन्त ठूलो जोखिम रहेको छ,’ दुबै संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ।

भारतमा समय समयमा देखापर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग भित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजस्व चुहावटसमेत हुने गरेको उल्लेख छ।

भारतबाट प्रज्ञापनपत्र लिएका मालवाहक कन्टेनरहरूमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालवाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाइ गर्न आग्रह गरेका हुन्।

नेपालगञ्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरूबाट अवैध रूपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ।

विशेष गरी भारतीय सीमा नाकाहरूका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरूले भारतबाट अवैध रूपमा कुखुरा आयात गरी ड्रेसिङ गरेर नेपालका प्रमुख शहरहरूमा कुखुराको मासु निर्यात गरिरहेको, भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ।

सीमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिँदै आएको छ। दुबै संघले भारतीय सीमा नाकाहरुबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरूको नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिन माग गरेका छन्।

व्यवसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिने गरी अगाडि बढेको बताएका थिए।

आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सह्य नहुने र यसमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *