जन्मभूमिकाे ‘माटाे’मा रक्षामन्त्री खड्काको ‘साष्टांग दण्डवत’

उपप्रधान तथा रक्षामन्त्री बनेपछि नेपाली कांग्रेसको उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्का शनिबार पहिलो पटक गृहजिल्ला सुर्खेत पुगेका छन्। आफ्नो जन्मभूमि पुगेलगत्तै जहाजबाट विमानस्थलमा ओर्लिएर खड्काले माटोलाई ढोगेका छन्।

सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री खड्काले ‘साष्टांग दण्डवत’ माटो ढोगेपछि अहिले यसको चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ। खड्कालाई विमानस्थलमा स्थानीयहरूले स्वागत गरेका थिए।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताए।

उनले भने, ‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍याे भन्ने जस प्राप्त गर्न सकूँ। त्यही ताकत, आशीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको हुँ।’

खड्का कांग्रेसको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन्। यसअघि पटक-पटक गरेर ७ चोटि मन्त्री बनिसकेका उनले फेरि मन्त्री नबन्ने संकल्प गरेका थिए। उनी पछिल्लो १८ वर्षयता मन्त्री बनेका थिएनन्। उपप्रधानसहित रक्षामन्त्रीको जिम्मेवारी पाएपछि भने उनी सरकारमा सहभागी भएका हुन्।

खड्का ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। उक्त निर्वाचनमा उनले ४२ हजार ६०७ मत ल्याएका थिए। खड्काले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्। पराजित शाहीले ३०९८८ मत ल्याएका थिए।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित विमानस्थलमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्तव्य राख्दै। तस्बिर : सुरेश आचार्य/रासस

खड्का कांग्रेस सभापति शेरबहादुर देउवाका राजनीतिक कमान्डरको रूपमा चिनिन्छन्। खड्काले गत पुस १० मा कांग्रेस र माओवादीबीच भड्किएको सम्बन्ध सुधार्दै एमालेलाई विपक्षी कित्तामा पुर्‍याएर पुरानो गठबन्धन ब्युँत्याउन सक्रिय भूमिका खेलेका छन्। नयाँ सत्ता समीकरण निर्माणमा सक्रिय भूमिका खेलेका खड्का अहिले दाहाल सरकारमा कांग्रेसको नेतृत्व गर्दै सहभागी भएका हुन्।

खड्का २०५५ वैशाख देखि २०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरणमन्त्री भएका थिए। २०५५ पुस १० देखि २०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृतिमन्त्री बनेका थिए। २०५६ जेठ १७ देखि २०५६ असार १५ गतेसम्म सूचना तथा सञ्चार र उद्योगमन्त्री भएका खड्का २०५६ असार १६ देखि २०५६ चैत ७ गतेसम्म उनी गृहमन्त्री भएका थिए। २०५८ कात्तिक २ देखि २०५९ असोज २५ गतेसम्म उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। खड्का २०६१ असार २१ देखि २०६१ माघ १९ गतेसम्म पनि गृहमन्त्री थिए।

कांग्रेसका तत्कालीन नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका उनी सहमहामन्त्री, महामन्त्री हुँदै अहिले पार्टीको उपसभापति छन्। ०७४ मा खुमबहादुरको निधनपछि देउवाले उनलाई २१ वैशाख, ०७५ मा महामन्त्री मनोनीत गरेका थिए। पार्टीको उपसभापतिमा निर्वाचित भएपछि खड्का कांग्रेसमा झन् शक्तिशाली बनेका छन्।

कांग्रेसबाट १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका खड्कालाई देउवाले पार्टीको महामन्त्री मनोनीत गरेका थिए। त्यसपछि उनको राजनीतिक भूमिका बढ्दै गयो। देउवाका विश्वासपात्रमध्येका एक विमलेन्द्र निधिले देउवालाई नै चुनौती दिँदै १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि त देउवा समूहमा खड्काको प्रभाव झन् बढ्यो। त्यसैले अहिले देउवाले लिने सबैजसो राजनीतिक निर्णयमा खड्काको भूमिका रहन्छ। खड्का नै देउवाका रणनीतिक योजनाकारजस्ता मध्येका हुन्।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी अहिले पनि घरिघरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्छन्।

०१० सालमा सुर्खेतमा जन्मिएका खड्का ०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन्। गाउँमा जन्मिए पनि खड्काको परिवार सबल र राजनीतिक नै थियो, उनका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए। माध्यमिक शिक्षापछि नेपालगञ्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म पनि भए। ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो।

त्यसबीचमा उनी दलमाथि प्रतिबन्ध भएकै बेला जनपक्षीय उम्मेदवारको रूपमा स्थानीय चुनावमा प्रतिस्पर्धा गरे र जिते पनि। तर, छोटो समयमै उनी पञ्चायतबाट निलम्बित भए। राजनीतिक आन्दोलनकै क्रममा पटकपटक गरेर ५ महिना हिरासतमा परेका खड्काले बहुदल स्थापनापछि तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नजिक भएर काम गरे।

भट्टराईकै स्नेहमा उनी ०४५ सालमा सुर्खेत सभापति भए। ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए। ०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने। त्यही बेला उनको पार्टीमा थप पकड बढ्यो।

खड्का अड्कलेर बोल्छन्। प्रायः खुलेर लामो समय कुराकानी नगरे पनि विषयवस्तुलाई खड्काले छोटकरीमा सरल ढंगबाट बुझाउँछन्।

खड्का सभापति देउवाले राम्रो काम गर्दा त्यसको प्रशंसा र ‘गल्ती’ गरेका बेला आलोचना गर्न पनि हिच्किचाउँदैनन्।

गत वर्ष मंसिरमा १४ औं महाधिवेशनअघि देउवा सचिवालयले ‘देउवा मलाई मनपर्छ’ भिडिओ बनाएर पोस्ट गर्दा यो अनावश्यक भनेर खड्काले आलोचना गरे, त्यसपछि देउवाबारेका भिडियाे पोष्ट हुनै छाडेको थियो। खड्कालाई कांग्रेस सभापति देउवाले भरोसासमेत गर्छन्, महत्त्वपूर्ण जिम्मेवारी सुम्पिन्छन्। देउवा प्रधानमन्त्री हुँदा गठबन्धनका हरेक बैठकमा खड्का छुट्दैनथे।

खड्का राजनीतिक परिस्थिति बदलिएका बेला तथा गठबन्धनका बैठकले महत्त्वपूर्ण निर्णय गर्दा ट्विट र फेसबुकबाट पनि आफ्ना कुरा राख्ने गर्छन्। रोचक के छ भने उनले आफ्ना कुरासँगै सधैं लालीगुराँसको थुंगासमेत पोष्ट गर्ने गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर