खेलकुद क्षेत्रमा राजनीति मिसाउनु हुँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा सहभागी भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरूलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन्।

उनले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्‍याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरूलाई निर्देशन गरे। त्यसैगरी उनले विकास बोर्डलाई आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दी आए पनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिबद्धता जनाए।

उनले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रूपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रंगशालालाई आदिवासी जनजाति रंगशालाको रूपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी गराए।

उनले भने, ‘नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, मोरङको झापा वैजनाथपुरस्थित रंगशालालाई तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको रंगशालाको रूपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ।’

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगमी २/३ वर्षभित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गरे।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रियस्तरका खेलाडीहरू राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यान दिनुपर्ने बताए। उक्त सम्मान कार्यक्रम कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको हो।

कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरू ललित राजवंशी र दीपेश कँडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार , प्रिय राई एक लाख, डेनिका राई २५ हजार, सागर यादव १५ हजार, निमा जीसी १५ हजार, अंशु मण्डल, रञ्जु चौधरी र पूजा चौधरी ५/५ हजार रुपैयाँ नगदसहित सम्मानित भएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *