शान्ति मिसनमा महत्त्वपूर्ण भूमिकाका लागि सहयोग गर्न उपप्रधानमन्त्री खड्काले गरे अमेरिकी राजदूतसँग छलफल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

रक्षा मन्त्रालयमा बुधबार भएको भेटमा उपप्रधान तथा रक्षामन्त्री खड्काले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि नेतृत्वदायी पदमा उचित हिस्सा प्राप्त हुन नसकेको भन्दै अमेरिकी सरकारको तर्फबाट यस विषयमा सहयोग एवं लबिङका लागि अनुरोध गरेका छन् । उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारको सहयोगको निरन्तरताको अपेक्षा समेत राखे ।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै यसमा सहमति भएबमोजिम नेपाललाई हवाई साधनलगायतका उपकरण उपलब्ध गराउन प्रयत्न गर्ने बताए ।

उनले नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक रहेको धारणा व्यक्त गर्दै विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताएका थिए ।

उनले नेपाली सेनाको पूर्वाधार विकासलगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पु¥याएको उल्लेख गर्दै नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक’ सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

भेटमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै अमेरिकी दूतावासका रक्षा सहचारी एवं अन्य कर्मचारीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर