सिक्किममा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको हो । त्यस्तै घाइते भएका १३ जना मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ ।

हिमपहिरोमा परी नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो । गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचीअनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रूपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन्।

त्यसैगरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए रहेका छन्।

त्यसैगरी हिमपहिरोमा परी घाइते भएका १३ जनामध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ। घाइतेहरूमध्ये नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतिको अस्पतालमा उपचार चलिरहेको छ। दिल्लीका पर्व गोयल र नेहाल गोयल, लखनउका निरज शर्मा, कोलकाताकी पुतुल सिंह र कोलकाताकै राकेश सिंह, सुमित दास, तथागत रोय चौधरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा ३ जना नेपाली नागरिकसहित ७ जनाको ज्यान गएको बताए।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरूको घरसम्म राज्य सरकारले पु¥याउने निर्णय गरेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मंगलबार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरूसँग भेट गरी उनीहरूको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरूको शव पनि राज्य सरकारले उनीहरूको घरसम्म पुर्‍याउने बताए।

सिक्किमको नाथुला पासनजिकै छाङ्गुमा मंगलबार हिमपहिरो गएको हो र घटनास्थलमा आज पनि उद्धार कार्य सुरु गरिएको छ। हिजो गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरू राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे हिमपहिरो गएलगत्तै सुरु गरिएको उद्धार कार्य खराब मौसमका कारण साँझ ६ बजेसम्म मात्रै गरिएको थियो भने आज बिहान ८ बजेदेखि पुनः उद्धार कार्य सुरु गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर