केरा बेचेर वार्षिक डेढ करोड बढी आम्दानी गर्छन् दुई गाउँका किसान

पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ । केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका-२ खबराको दृश्य हो यो ।

सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरि विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् । खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक डेढ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

खबराका किसानले केरा खेतीबाट वार्षिक एक करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन् ।

व्यापारीहरू केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए । यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । ‘बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्,’ उनले भने ।

खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए । यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बताउँछन् ।

थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यावसायिक बन्दै गएको स्थानीयको भनाइ छ । अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रूपमा हजारी जातको केराको खेती गरेका छन् । यहाँका किसानले वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए ।

स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ बबिता सापकोटाले भनिन्, ‘पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी हुन्छ ।’

उनले १० वर्षदेखि केरा खेती गर्दै आएकी छन् । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ । सापकोटाले भनिन्, ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौंँ राखेर पढाउन पुगेको छ ।’

उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताइन् । सापकोटाले भनिन्, ‘ केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एक सय २० रुपैयाँमा बिक्री हुन्छ ।’

खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक छ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए । ‘राम्रो भयो भने केराको एक घारीमा सात सयदेखि आठ सयसम्म कोसा हुन्छन्,’ उनले भने, ‘एक घारीको चार हजार दुई सय रुपैयाँसम्ममा बिक्री गरेको छु ।’

बेनी नगरपालिका-२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए ।

उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन् । उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन् । किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए ।

गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पाकेको केरा प्रतिदर्जन एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर