बूढीगण्डकी जलविद्युत आयोजना शीघ्र अगाडि बढाउँछौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले मन्त्रिपरिषद विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले अब सम्बद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने स्पष्ट पारे।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधामन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले आगामी बजेटमा आयोजनाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेर नै अगाडि बढाइने बताएका हुन्।

आयोजनाका बारेमा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापत्रमासमेत स्पष्ट रूपमा लेखिएको, सत्ता गठबन्धनमा आबद्ध दलको समेत स्पष्ट दृष्टिकोण रहेकाले कुनै द्विविधा नराख्न प्रधानमन्त्रीले विश्वास दिलाएको गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

सरकारले सो आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिसकेको भए पनि काम भने प्रभावकारी हुन सकेको छैन। कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको कामा लामो समयदेखि अगाडि बढ्न सकेको छैन।

‘प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी भएका छौं, स्थानीयबासीको आशंकासमेत हटेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘आयोजनाको बजेट रकमान्तर भएका विषयमा स्थानीयले गुनासो गरेका थिए।’ उनले प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनाका साथ आयोजना अघि बढाउने प्रतिबद्धता जनाएको बताए।

प्रधानमन्त्रीले सो अवसरमा आयोजना अगाडि बढाउन स्थापना गरिएको कम्पनीलाई समेत अब गति दिन र त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आवश्यक निर्देशन दिइने बताएका थिए।

सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो। जसमा सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी स्थापना गरेको थियो।

कम्पनी स्थापनाको निर्णय गर्ने तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन्। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्षसमेत रहेकी भुसाल पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिइन्। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर