अलकत्रा उद्योगले पशुचौपाया मरे, मानव श्वासप्रश्वासमा समेत असर

मोरङको उर्लाबारी-३, चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्ने गरी अलकत्रा पगाल्न थालेपछि विरोध सुरु भएको छ। समुदायबाट करिब ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नगर्दा पशुचौपायाको मृत्यु भएको छ।

उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालयनजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानीयहरू बताउँछन्। मापदण्डविपरीत समुदायको बीचमा अलकत्रा पगाल्न थालेपछि स्थानीयहरू आक्रोशित भएका छन्। गाँउघरमा भएका पशुचौपाया मर्ने र बाललबालिकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन्।

मानव स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योग तोडफोडको आरोपमा इलाका प्रहरी कार्यलय उर्लाबारीले स्थानीय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छाडे पनि मनोज लिम्बू र सन्तोष लिम्बू भने प्रहरी नियन्त्रणमै छन्।

यता उद्योग रेखदेख गर्दै आएका इन्चार्ज जगन्नाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरे पनि स्थानीय युवा आएर तोडफोड गरेको बताए। मापदण्डविपरीत सञ्चालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनै पनि उद्योग सञ्चालनमा रोक लागउने उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकीले बताए।

सुरुमा च्याउ उद्योग खोल्ने भने पनि पछि अक्सप्लान्ट प्रविधिको उद्योग सञ्चालनमा ल्याएको स्थानीयहरूको भनाइ छ। पटकपटक विरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको उनीहरू बताउँछन्। स्थानीय, जनप्रतिनिधि र निमार्ण पक्षबीच समुदायलाई असर गर्ने गरी उद्योग सञ्चालन नगर्ने सहमति भए पनि सहमति कार्यान्वयन हुन नसकेको बताइन्छ।

कानूनअनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता उद्योग समुदायबाट ३ किलोमिटर टाढै रहनुपर्ने प्रावधान छ। उद्योगले भने सो नियमको पालना नगरेको पाइएको छ। उद्योगबाट निस्कने धुँवाले गाँउमा रहेका मानिस मात्रै होइन जनवारमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन्। स्थानीय कृषकले फर्ममा पालेका कुखुरा, खसी मर्ने र स्कुले बालबालिकाको आँखा सुन्निने, खोकी लाग्ने जस्ता समस्या देखापरेको विद्यार्थीहरू बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर