व्यापारिक केन्द्र बन्दै मेलौली

कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् ।

पाटन-पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हुँदै गएपछि मेलौलीबजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताए । उनले भने, ‘एक दशक अगाडिसम्म देहिमाडौँ, पाटनबाट खच्चर र घोडामा दैनिक उपभोग्य सामान ल्याइन्थ्यो, हाल भने सडक विस्तार भएर मेलौलीमै बजार बनेको छ ।’

पञ्चेश्वर सडक मेलौली बजारसम्म कालोपत्र भइसकेकाले पनि यहाँ झनै चहलपहल बढेको छ । यहाँबाट दैनिक रूपमा तराईसम्म सिधै बस सेवासमेत जारी छ । यसका साथै पाटन, सदरमुकामसम्म पनि दैनिक जिप सञ्चालनमा छन् ।

मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र, क्याम्पस, विद्यालय सञ्चालनमा छन् । इलाका प्रहरी चौकी, स्थानीय सञ्चारमाध्यम पनि सञ्चालनमा रहेका छन् । मेलौलीमा प्रसिद्ध मेलौली भगवती मन्दिरसमेत रहेको छ ।

विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै मेलौली व्यापारिक केन्द्र बनेको स्थानीय होटल व्यवसायी विजु नायकले बताए । सडक सञ्जाल विस्तारले व्यापार व्यवसाय बढेको र यसले यहाँको आर्थिक उन्नतिमा टेवा पुगेको छ । उनले भने, ‘तल्लोस्वराडका अन्य पालिकामा कुनै कामको सिलसिलामा आएका कुनै पनि मान्छे मेलौलीमा बास बसेर जाने गरेका छन् । मेलौली व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ ।’ दशरथचन्द राजमार्गको पाटनबाट पञ्चेश्वर जोड्ने सडकको ३५ किलोमिटरको दूरीमा मेलौली बजार रहेको छ ।

विकासका दृष्टिले पहिलेको मेलौली र अहिलेको मेलौलीमा धेरै अन्तर देखिएको स्थानीय प्रेम चन्दले बताए । बजार विस्तारसँगै अहिले मेलौलीमा सबै किसिमका सामान उपलब्ध हुन थालेका छन् । उनले भने, ‘सडक विस्तारले पहिलाको तुलनामा धेरै विकास भएको र नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ । सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’

तल्लोस्वराड क्षेत्रमा सडक नपुग्दासम्म यहाँका नागरिक भारतीय बजारमा मात्रै निर्भर रहेकामा अहिले भने त्यो बाध्यता हट्दै गएको शिवनाथका स्थानीय वीरेन्द्र महताले बताए । उनले भने, ‘दैनिक उपभोग्य सामग्री किन्नसमेत भारत जाने यहाँका नागरिक सडक पुगेसँगै अहिले सहजै यहाँ पाइने गरेको छ । सडकले यही बजार विस्तार हुन थालेका छन्, भारतमाथिको निर्भरता हटाएको छ ।’

शिक्षा र औषधोपचारका लागि पनि भारतकै भर पर्ने नागरिक सडक विस्तारले उक्त बाध्यताबाट पनि मुक्त भएका मेलौली प्राथमिक स्वास्थ केन्द्रका प्रमुख मुकेशकान्त दयालले बताए । उच्च शिक्षा तथा सामान्य उपचारका लागि भारतीय अस्पतालमा पुग्नुपर्ने स्वराडवासीलाई अहिले सडक पुगेपछि तल्लोस्वराडमै पाउन थालेका छन् । उनले भने, ‘सडक नपुग्दा बिरामी हुँदा बाहिर जानुपरेमा निकै समस्या हुने गरेको थियो, अहिले स्वास्थ्य सेवा पाउन पनि सहज भएको छ ।’

यसका साथै सदरमुकाम आउनसमेत भारतको बाटो प्रयोग गर्ने तल्लोस्वराडका नागरिकलाई अहिले भने सहजैरूपमा आवातजावत गर्न सहज भएको छ । देश सङ्घीय संरचनामा गइसकेपछि दुर्गम भनेर चिनिने तल्लोस्वराडमा विकासले फड्को मारेको हो । स्थानीय जनप्रतिनिधिले पनि विकासको मेरुदण्ड सडक भएकाले यसलाई प्राथामिकतामा राखेका छन् । सडक नहुँदा दुई दिन लगाएर सदरमुकाम पुग्ने नागरिक हाल भने एक दिनमै पुग्ने गरेका छन् ।

सडक सञ्जाल विस्तारले यहाँको मुहार नै फेरिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । एक दशक अगाडिसम्म पनि सडक पुग्न नसकेको तल्लोस्वराडमा हाल भने अधिकांश गाउँमा सडक विस्तार भएको छ । उनले भने, ‘पाटन-पञ्चेश्वर सडक नियमितरूपमा सञ्चालन भएसँगै यहाँ चहलपहल पनि बढेको छ । सडक सञ्जाल विस्तारले तल्लोस्वराड क्षेत्र विकासको बाटोमा लम्किनुका साथै जीवनशैलीमा पनि परिवर्तन आएको छ ।’

पाटन-पञ्चेश्वर सडकको मेलौलीसम्म कालोपत्र भएको र मेलौलीबाट पञ्चेश्वरसम्मको सडकखण्डमा पनि कालोपत्रको काम भइरहेको छ । तल्लोस्वराड क्षेत्रमा सडक विस्तार भए पनि विद्युत् भने पुग्न सकेको छैन । सञ्चारसेवा पनि भरपर्दो छैन । -रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *