रसुवागढी-केरुङ नाका पूर्ण सञ्चालनमा
कोभिड-१९ संक्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरुङतर्फ पठाइएको छ ।
नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्कनुभएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाकाहुँदै रसुवा फर्केका थिए ।
कोरोना संक्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए । आगामी मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उनले बताए ।
नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरुङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए ।
रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरुङतर्फ पठाइएको छ । मालसामान आयातका लागि आजै ६३ ट्रक केरुङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।
केरुङका लागि आठ सय ८७ ट्रक पालैपालो पठाइने भएको छ । कोरोना संक्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल आज बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो ।
नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरुङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया