
मन्त्रिपरिषद विस्तार भोलि, कुन पार्टीले पाउँदैछ कति मन्त्रालय?

नेपाली कांग्रेससहितको नयाँ सत्ता समीकरण निर्माणपछि शुक्रबार मन्त्रिपरिषद विस्तार हुने भएको छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह तय भएको छ। उच्च स्रोतका अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ भने मन्त्रीहरूको नाम पनि लगभग टुंगिएको छ। नेताहरूका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन। अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन्।
मिल्न बाँकी मन्त्रालयहरूको सन्दर्भमा आफैं मिलाउने भनी प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन्। त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवादमा छन्।
सत्ता साझेदार दलहरूका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ।
प्रतिक्रिया