ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई

ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

एपीएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपीएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

आजको खेलमा एपीएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजजंशीले अविजित २१ रन बनाइन् । त्यस्तै अप्सरी बेगमले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपीएफका लागि विनु बुढा मगरले दुई विकेट लिइन भने सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता रानामगरले अविजित ७९ रन बनाइन भने इन्दु बर्मा ५१ रनमा अविजित रहिन् ।

कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् । प्रतियोगिता यही चैत ९ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *