बेचबिखनमा परेका ९ युवतीहरूको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बेचबिखनमा परेका ९ जना नेपाली युवतीहरूलाई भारतको दिल्लीबाट उद्धार गरेको छ।

ब्यूराेका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद  पगेनीका अनुसार यसरी बेचबिखनमा परेका युवतीरूलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर दिल्ली पुर्‍याएका थिए र उनीहरूलाई त्यहाँ बन्धक बनाएर जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो।

बेचबिखनमा परेका युवतीहरूलाई  भारतीय प्रहरी, भारतस्थित नेपाली राजदूतावास, भारतीय सामाजिक संस्था केआईएन इण्डिया, नेपालस्थित शक्ति समूहको सहयोगमा चैत ७ गते उद्धार गरेर नेपाल ल्याइएको हो। उनीहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।

यस कार्यमा संलग्नमध्येका ३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरको भीमफेदी गाउँपालिका-९ की २० वर्षीया सम्झना तामाङ भन्ने सेन्जी तामाङ, धादिङको धुनीबेँसी नगरपालिका-२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मग्राती रहेका छन्।

प्रहरी अनुसन्धानमा उनीहरूले काठमाडाैंकाे माछापोखरी, बसपार्कलगायतका ठाँउहरूमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गरेको बुझिएकाे छ। उनीहरूले युवतीहरूलाई भारतको दिल्ली लैजान काठमाडाैंबाट नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाई दिल्ली पुर्‍याउने गरेका थिए।

बेचबिखनमा संलग्न गिरोहले २०७९ सालको असोज महिनादेखि फागुन महिना सम्ममा ९ जना युवतीहरूलाई काठमाडाैंदेखि दिल्ली पुर्‍याएको खुलेकाे छ।

पीडितमध्ये केही युवतीहरूलाई प्राइभेट गाडीमा राखी प्याकिङ खाना तथा जुसमा औषधी मिसाई बेहोस बनाएर बोर्डर क्रस गराएकाे पाइएको छ।

पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुक आईडीसमेत प्रतिवादीहरूले खोलिदिई सोको पासवर्डसमेत आफैंले राखी अनलाइन निगरानी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएकाे छ।

पीडित युवतीहरूलाई दिल्ली किशनगढस्थित पंजावीढावा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा सीसी क्यामेराकाे निग्रानीमा राखिएको, सम्पर्कमा आएका व्यक्तिहरूलाई ह्वाटसएपमार्फत पीडित युवतीहरूको फोटो पठाई उनीहरूले छानेका युवतीहरूलाई वेश्यागमनमा आउने व्यक्तिहरूले भनेको होटल, घरहरूमा ट्याक्सी बुक गरी पुर्‍याइदिने गरेको पाइएकाे छ।

आफ्ना चिनजानका विश्वासिला ट्याक्सी ड्राइभरमार्फत सम्बन्धित ग्राहकले भनेको स्थानमा पठाउने र ग्राहकसँगको कारोबार अनलाइनमार्फत हुने गरेको खुलेकाे छ।

प्रत्येक महिनामा एक जना युवतीले कम्तीमा १८० जनासँग शारीरीक सम्पर्क गर्नुपर्ने दबाब दिने गरेको पीडित युवतीले बताएका छन्।

उक्त गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेकका अन्य शहरहरूमा समेत पठाउने गरेको पाइएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *