चिनियाँ जहाज बेच्ने नेपाल एयरलाइन्सको तयारी, मूल्यांकनका लागि आयो टोली

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाँचवटा चिनियाँ जहाज बेच्ने तयारी गरेको छ। तीन वर्षयता ग्राउन्डेड रहेका चिनियाँ जहाज एयरलाइन्सले बिक्री गर्ने तयारी गरेको हो।

जहाज बिक्री मूल्यांकन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौं आइपुगेका छन्।

निगमकी प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्यांकन गरिसक्ने बताइन्। कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्यांकनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

उनले भनिन्, ‘चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्यांकनका लागि गत मंसिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो। मूल्यांकनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट छनोट भएपछि २०७७ साउनदेखि ग्राउन्डेड जहाजको इन्टरनेशनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्यांकन हुन लागेको हो।’

चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिनेलगायतबारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्यांकन प्रक्रिया सुरु गर्न लागिएको हो। जहाज भाडामा लगाउन निगमले दुई पटक बोलपत्र आह्वानसमेत गरेको थियो तर कसैको आवेदन परेन।

निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ, सोही अवस्थामा मूल्यांकन गर्न लागेको प्रवक्ता खड्काको भनाइ छ। निगमले यही मूल्यांकनका आधारमा जहाज बिक्रीको टेन्डर गर्ने उनले बताइन्।

जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी छ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो। कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो।

छवटा चिनियाँ जहाजमध्ये एउटा एमआई ६० र एउटा वाई १२ जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चारवटा जहाज जीटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणालीअन्तर्गत) चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो।

छवटा जहाजमध्ये एक वाई १२ नेपालगञ्जमा दुर्घटनामा परेको थियो। पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले विमान हटाउन लागेको हो। अधिक खर्च र न्यून आम्दानीका कारण उडाएर लाभ लिन नसक्ने निष्कर्ष निकाल्दै निगमले जहाज ग्राउन्डेड गरेको थियो। हाल निगमले दुईवटा एयरबस–३२० र दुईवटा एयरबस–३३० सिरिज गरी कुल चारवटा जहाजमार्फत दिल्ली, मुम्बई, बैङ्लुरु, थाइल्यान्ड, हङकङ, जापान, साउदी अरेबिया, दुबई, कतार, मलेसियालगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर