चितवनवासीले सम्झिरहने ‘गिरिजाबाबु’

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृ सङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उनको स्मृतिमा विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताका रूपमा समेत स्मरण गर्दछ ।

वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दश वर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालालाई बृहत् शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रूपमा पनि चिनिन्छ ।

तर, चितवनवासीका लागि भने उनलाई सम्झिरहने अन्य कारण पनि छन् । उनकै नेतृत्वमा जिल्लामा भएका महत्त्वपूर्ण कामका लागि आज पनि चितवनबासी कोइरालालाई सम्झिरहन्छन् ।

पचासको दशकमा जिल्लाले विकासको गति लिन सुरु गर्‍याे । तत्कालीन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटाका अनुसार कोइराला प्रधानमन्त्री हुँदा चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर गाउँ विकास समिति निकुञ्जबाहिर सारियो । त्यति नै बेला राप्तीमा बाढीका कारण पूर्वी चितवनका धेरैले जनधन गुमाए । त्यहाँ राप्ती तटबन्धनका लागि ड्याकको काम भएको उनी बताउँछन् ।

भरतपुरमा चीन सरकारको सहयोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बन्यो । माडी आवतजावतका लागि राप्ती नदीमा पुल निर्माणको काम भयो । माडी ठोरी हुलाकी सडकको काम पनि त्यति बेला नै भएको सापकोटाको भनाइ छ । भारतीयको लगानी रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवन ल्याउनुमा पनि कोइरालाको योगदान छ ।

विगतलाई सम्झँदै सापकोटाले भने, ‘गिरिजाबाबु चीन हुनुहुन्थ्यो, उहाँले मलाई फोन गर्नुभयो । चिनियाँहरूले बीपी बाबुको नाउँमा क्यान्सर अस्पताल खोल्न खोज्दैछन्, जग्गा खोज्न सकिन्छ भनेर सोध्नुभयो । मैले सकिन्छ भन्ने उत्तर फर्काएँ ।’ आफू जिविस सभापति भएकाले उनले त्यहीँबाट टेलिफोनमा सोधेको उनको भनाइ छ ।

गिरिजाबाबु चीनबाट फर्किएपछि त्यहाँको चिनियाँ टोली चितवन आएको सापकोटाले सुनाए । पूर्वी चितवनका कांग्रेस नेता शेषनाथ अधिकारीले त्यही क्षेत्रमा अस्पताल खोल्न चिनियाँ टोलीलाई जयमङ्गला र खैरहनी गौचरन देखाए पनि भरतपुरको जग्गामा चिनियाँहरू अस्पताल बनाउन राजी भएको सापकोटाले बताए ।

राप्ती नदीमा बाढीले ठूलो धनजनको क्षति गरेपछि त्यहाँ अनुगमनमा आइपुगेका कोइरालाले राप्तीमा तटबन्धन ड्याक मात्रै होइन, त्यहाँबाट माडी पुगेर पुल निर्माणको घोषणा गरेको सापकोटा बताउँछन् । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पुल निर्माण कठिन भए पनि कोइरालाले जनताको आवश्यकतालाई महसुस गरी पुल बनाएको सापकोटा स्मरण गर्छन् ।

यससँगै भरतपुर-माडी ठोरी हुलाकी सडक निर्माणमा पनि कोइरालाकै योगदान छ । निकुञ्ज स्थापनाको समयमा त्यहाँको पदमपुर गाउँपालिकालाई स्थानान्तरण गर्ने भनिए पनि सम्भव भएको थिएन । कोइराला प्रधानमन्त्री हुँदा निकुञ्जभित्रको बस्ती पदमपुर पूर्वी चितवनमा स्थानान्तरण गर्ने काम भएको छ ।

पदमपुर स्थानान्तरण समितिका अध्यक्ष बाबुराम पुरीका अनुसार कोइरालाको उक्त निर्णयका कारण झण्डै दुई हजार चार सय घरधुरी पदमपुरवासीलाई हालको कालिका नगरपालिकामा सुरक्षित ठाउँमा स्थानान्तरण सम्भव भएको हो । उनले भने, ‘सिङ्गो गाउँ विकास समिति स्थानान्तरण सहज थिएन ।’

‘बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बनेसँगै यहाँ भारतीयहरूको लगानीमा कलेज अफ मेडिकल साइन्सेस स्थापना भएको हो,’ सापकोटाले विगतलाई सम्झँदै भने, ‘हामीले गिरिजाबाबुसँग डेलिगेसन गर्यौं । सुरुमा उहाँले त्यहाँ क्यान्सर अस्पताल छ, मेडिकल कलेजलाई नेपालगञ्ज लैजानुपर्छ भन्नुभयो । हामीले क्यान्सर अस्पताल भएकै कारण मेडिकल कलेज पनि चितवनमा चाहिन्छ भनेका थियौँ ।’

समय-समयमा मेडिकल कलेजका सञ्चालक डा. भी नटराजप्रसादले गिरिजाबाबुले आफूहरूलाई यहाँ ल्याए पनि पछिल्ला वर्षमा सरकार र कांग्रेसले आफ्ना कुरा सुनुवाइ नगरेको गुनासो गर्दै आएका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति टीकाराम न्यौपाने तत्कालीन प्रधानमन्त्री कोइराला र यातायातमन्त्री खुमबहादुर खड्काका कारण हुलाकी सडक र पुलको काम भएको स्मरण गर्छन् । ‘गिरिजाबाबुको पालामा जे जति काम चितवनमा भए त्यसपछि ठूला काम हुन सकेनन्,’ उनले भने ।

पार्टीको तर्फबाट गरिएका माग अनुसारका काम उनले गरेको न्यौपानेको भनाइ छ । जिल्लामा भएका कामहरूलाई अन्य पार्टीका नेताहरू पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । नेकपा (एमाले)का पूर्व जिल्ला सचिव विजय सुवेदीले चितवनको विकास निर्माणमा कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताए । चितवन क्षेत्र नं. १ का पूर्वसांसद स्व. जागृतप्रसाद भेटवाललाई उद्धृत गर्दै सुवेदीले पूर्वी चितवनमा ड्याक निर्माणका लागि अन्यत्रको बजेट काटेर यहाँ ल्याउन कोइरालाको योगदान रहेको बताए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कोइरालाको स्मरण गर्दै गर्दा देशभरमै महत्त्वपूर्ण विकासका काम चितवनमा भएको बताए ।

शिक्षा, स्वास्थ्य, यातायातलगायतका पूर्वाधारमा उनको योगदान स्मरणीय रहेको उनको भनाइ छ । कोइरालाकै पालामा पूर्वी चितवनमा दूध प्रशोधन उद्योग स्थापना भए पनि त्यसले भने सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ । कोइरालाको आज स्मृति दिवस मनाउँदै गर्दा जिल्लावासीले उनले गरेका महत्त्वपूर्ण विकास निर्माणका कामलाई सम्झिरहेका छन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *