पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयर दुर्घटनापछि मात्र आईएलएस जडान
चिनियाँ बैंकसँग ऋण लिई चिनियाँ कम्पनीले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मुख्य उपकरण जडान नगरी हस्तानान्तरण गरेको खुलेको छ । विमानस्थलमा विमान अवतरणका लागि आवश्यक मुख्य उपकरणमध्येको एक इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) विमानस्थल हस्तान्तरणपछि मात्र जडान भएको हो । आईएलएस जडानअघि नै पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियाे ।
विमानस्थलमा गत ११ फागुन (२३ फेब्रुअरी) मा उक्त उपकरण जडान भएको विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले पर्दाफासलाई जानकारी दिइन् । जब कि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १७ पुस (१ जनवरी) मा विमानस्थलको उद्घाटन गरेका थिए । यति एयरलाइन्सको विमान १ माघ (१५ जनवरी) मा विमानस्थल नजिकै दुर्घटना भएको थियो ।
विमानस्थल उद्घाटनको क्रममा चिनियाँ अधिकारीले नै चिनियाँ र आईकाओको मापदण्डअनुसार यसको डिजाइन र निर्माण गरिएको जनाएका थिए । चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका सल्लाहकार जी रोङले विमानस्थलमा सबै मापदण्ड पुगेको उल्लेख गरेका थिए । तर, यथार्थमा भने मुख्य उपकरण नै जडान गर्न चिनियाँ पक्षले छुटाएको थियो ।
The new #airport in Pokhara, the third international airport in #Nepal, was put into operation on Sunday. It was designed and built on #Chinese and ICAO standards and it will boost national and regional development. pic.twitter.com/eEkdJbTW9x
— Ji Rong嵇蓉 (@JiRongMFA) January 3, 2023
गत १ माघ (१५ जनवरी) मा यति एयरलाइन्सको विमान विमानस्थल नजिकै आइपुग्दा दुर्घटना भएको हो । विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुवै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको दुुर्घटनाबारे छानबिन गर्न सरकारले बनाएको जाँचबुझ समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
आईएलएस उपकरण सामान्य तथा प्रतिकूल अवस्थामा अवतरणका लागि प्रयोग हुन्छ । उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकाओबाट मान्यताप्राप्त यो उपकरणले कम दृश्य र खराब मौसम अवस्थामा सुरक्षित अवतरण सुनिश्चित गर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र देउजाका अनुसार आईएलएस रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । नेपालका केही विमानस्थलमा यो उपकरण जडान गरिएको उनले बताए । विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर, आईएलएस कार्यान्वयन हुने हो भने ८०० मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिन्छ ।
तर, पाेखरा विमानस्थल उद्घाटन र सञ्चालन पछि मात्र आवश्यक मुख्य उपकरण बल्ल जडान भएको हो । यसबारेमा दुर्घटना जाँचबुझ आयोगले कुनै विवरण भने उल्लेख गरेको छैन । हवाई क्षेत्रका विज्ञ बुद्धिसागर लामिछाने विमानस्थलको आवश्यकताअनुसार आईएलएस उपकरण जडान हुने बताउँछन् । उनले नेपालमा पोखराका साथै भैरहवा, सिमरामा पनि आईएलएस जडान भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने नजिकै डाँडा भएका कारण स्लोप नपुग्ने भएकाले यो उपकरण जडान नभएको जानकारी दिए । यस्तै, पोखरामा कम क्षमताको आईएलएस जडान भएको उनले बताए ।
पोखरा विमानस्थल उद्घाटनको दिनमा पनि ५ वटा आन्तरिक उडानको क्रममा उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो देखाएको थियो । ती विमानले एलएलभीसम्बन्धी नियम उल्लंघन गरेर उडान गरेका थिए । तर, सम्बन्धित पक्षलाई कारबाही भने भएन । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार भीएफआर उडानका लागि हरेक दिन सूर्योदय र सूर्यास्तको समय तोकिएको हुन्छ । त्यस समयको अघि र पछि उडान गर्न नमिल्ने भए पति ती विमानहरुले सूर्यास्तको तोकिएको समयभन्दा पछि उडान गरेका थिए ।
चिनियाँ बैंकसँग ऋण लिई चिनियाँ कम्पनीले निर्माण गरी करिब ३ महिनाअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरुवातदेखि नै आवश्यक उडान गर्न नसक्दा आलोचित छ । १७ पुस (१ जनवरी २०२३) मा उद्घाटन भएको विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान भइसकेको छैन ।
केही आन्तरिक उडान भए पनि त्यो पनि पर्याप्त छैन । विमानस्थल कार्यालयका अनुसार हाल यहाँ दैनिक २५–३० वटा आन्तरिक उडान भइरहेका छन् । उद्घाटनको केही दिनपछि नै यति एयरलाइन्सको विमान विमानस्थल नजिकै दुर्घटना भएको थियो । जसका कारण यहाँ उडानको जोखिमबारे पनि अनेक कोणबाट विश्लेषण हुँदै आएको छ ।
उडान सुरक्षाको चुनौती
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अर्को समस्या हो, चराचुरुङ्गी र जंगली जनावर । निर्माण सुरु अघि नै यो समस्या उल्लेख गरिए पनि त्यसलाइ नजरअन्दाज गरिएको छ । विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला र दक्षिणतिर सेती नदी पर्छ । विजयपुर खोला पार गर्नासाथ धावनमार्ग आइपुग्छ । तर यी दुवै खोला फोहोर हुँदा, मरेका जीवजन्तु फाल्दा आहारका लागि चरा आकर्षित हुन गरेका छन्, जुन विमानस्थलका लागि ठूलो चुनौती हो ।
यसले उडान र अवरणमा समस्या हुने विमानस्थलका कर्मचारी बताउँछन् । केहीदिन अघि अवतरणको क्रममा रहेको जहाजसँग चरा ठोक्किएको पनि थियो । विमानस्थल नजिकका झाडीमा स्यालको बिगबिगी छ । राति स्याल विमानस्थलमा पस्ने गर्दा रात्रिकालीन उडानमा समस्या हुन्छ ।
चिनियाँ ऋणको पासो
पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगको ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ ।
यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ । ग्रेस पिरियड चाँडै सकिँदै छ । प्राधिकरणका अनुसार पहिलो किस्ता बापतको ५ करोड ३० लाख २८ हजार ४६१ युआन (करिब ३३ करोड रुपैयाँ) यही चैतमा तिर्नुपर्ने छ । दोस्रो किस्ता त्यसको ६ महीनापछि तिर्नुपर्छ । प्राधिकरणले एक्जिम बैंकको ऋण अर्धवार्षिक किस्तामार्फत चुक्ता गर्नुपर्छ । तर विमानस्थल नै सञ्चालन गरेर आएको मुनाफाबाट ऋण तिर्ने सम्भावना भने कम देखिँदै छ ।
प्रतिफलको सम्भावना कति ?
पोखरा जस्तो पर्यटकीय हबमा बनेको विमानस्थल भएकाले सरकारले यसबाट पर्याप्त लाभ लिनसक्ने सम्भावना पनि छ । तर, त्यसका लागि अहिले देखिएका तमाम समस्या समाधान गर्नु ठूलो चुनौती हुनेछ । पहिला विमानस्थल बनाइहाल्ने र त्यसपछि समस्या समाधान गर्नतर्फ लाग्ने अहिलेको प्रवृत्तिले भने यो आयोजना कतै ‘सेतो हात्ती’ त बन्ने होइन भन्ने आशंका पनि छ ।
महँगो ब्याज तिर्नुपर्ने गरी निर्माण गरिएको विमानस्थलबाट प्रतिफल आउनेमा अहिले शंका गरिएको छ । विमानस्थलमा मझौला र साना विमानले मात्रै उडान गर्न सक्छन् । ठूला जहाज बस्न नसक्ने, साना र मझौला विमानले मात्रै अन्तर्राष्ट्रिय व्यावसायिक उडान कठिन हुने भएकाले पनि यस विमानस्थलकै आम्दानीबाट तत्काल ऋण तिर्ने सम्भावना कम छ ।
यो परियोजनाको निर्माण प्रतिफललाई भन्दा भावनामा आधारित भएर गर्दा पनि समस्या परेको केही विश्लेषकहरुको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाख २०७३ मा विमानस्थलको शिलान्यास गरेका थिए । १० जुलाई २०२१ मा काम सक्ने गरी चिनियाँ कम्पनी सीएएमसीईलाई निर्माणको जिम्मा दिइएको थियो । तर, करिब डेढ वर्षपनि निर्माण सम्पन्न भएर सञ्चालन आएको हो ।
निर्धारित समयभन्दा ढिला विमानस्थल निर्माण भए पनि उपकरण जडानमा पनि चिनियाँ पक्षले लापरबाही गरेको पाइएको हो । दाहाल प्रधानमन्त्री बनेको र नेपालमा नयाँ चिनियाँ राजदूत नियुक्त भएको समयमा काम र प्रभाव देखाउन हतारमा विमानस्थल उद्घाटन भएको पाइएको छ । लगत्तै यति एयरलाइन्सको विमान दुर्घटना भयो, जसको विस्तृत प्रतिवेदन आउन बाँकी नै छ । तर, ७२ जनाको मृत्यु भएको घटनाको जिम्मेवार को त ? भन्ने प्रश्न कायमै छ ।
प्रतिक्रिया