सेनाको वीरभद्रजङ्ग गुल्मलाई बाहिनीपति ट्रफीको उपाधि
कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ ।
महेन्द्रनगर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना भएको प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै वीरभद्र जङ्ग गुल्मले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेता गुल्मलाई २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे । साथै प्रतियोगितामा उपाधि विजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्म प्रतिस्पर्धामा उत्रिएका थिए ।
सेनाले बाहिनीस्तरबाट खेलाडी छनोट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ ।
समापन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया