जगदम्बा स्टील्सकाे मुख्य प्रायाेजनमा चैत ९ देखि ‘जीतपुर सिमरा गोल्ड कप’

बारामा जगदम्बा स्टीलको मुख्य प्रायोजनमा जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण आगामी चैत्र ९ देखि आयोजना हुने भएको छ ।

सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताकाे बारेमा सोमबार आयोजक नवजन जागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरी १० टिमको सहभागिता रहने भएकाे छ ।

साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड क्लब र आयोजक नवजन जागृती युवा क्लबले प्रतियोगिता खेल्ने भएका छन् ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् । त्यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार रूपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलका म्यान अफदि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टीलकातर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । अघिल्लो संस्करणबाट मुख्य प्रायोजकका रुपमा आएको जगदम्बा स्टिलले यस वर्षका लागि सम्झौता नवीकरण गरेको हो । प्रतियोगिताको व्यवस्थापनमा जीतपुर सिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष लामाले जानकारी दिए ।

चैत्र ९ गतेदेखि १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नवजन जागृती युवा क्लबले जनाएको छ । सूर्य नेपाल प्रा.लि.को मुख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता वृद्धि गरिएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *