४ वर्षपछि नेपाली र चिनियाँ व्यवसायीहरूको बैठक, दुई देशीय व्यापार समस्या समाधान गर्नेबारे छलफल

नेपाल र चीनका उद्योगी व्यवसायीहरूको बैठक ४ वर्षपछि बसेको छ । सोमबार काठमाडौंको एक होटलमा दुई देशका व्यवसायीहरूको संयुक्त बैठक बसेको हो ।

बैठकमा नेपालमा नयाँ व्यपारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यपारसम्बन्धी समस्या समाधान गर्ने र सीमा नाकाको समस्याका बारेमा छलफल हुनुका साथै रोकिएका प्रोजेक्टहरू सञ्चालन गर्नेबारेमा छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताए । नेपाल-चीन च्याम्बरका अध्यक्षसमेत रहेका उनले छलफलमा नेपालीहरूलाई भोकेशनल ट्रेनिङ दिने, व्यापारीहरूलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरू नेपाल पठाउने, रोकिएको व्यापार सुचारु गर्ने, उद्योगहरू खोल्ने, नयाँ सम्भावनाहरूको खोजी गर्ने कुरामा पनि छलफल भएको बताए ।

अध्यक्ष तुलाधरले चिनियाँ बैंक नेपालमा आउने सम्भावना उच्च रहेको बैठकबाट जानकारी भएको पनि बताए । उनले बैठकमा दुई देश र दुई देशका व्यापारीहरूको सम्बन्धलाई थप प्रगाढ र सुदृढ गर्नेबारेमा पनि छलफल भएको बताए । बैठकका लागि सीसीपीआईटी बेइजिङ र सीसीआईओसीका १२ सदस्य टोली नेपाल आएको हो । चीनले नेपाल लगायतका अन्य मुलुकहरूसँग व्यापारिक स्थल खुला गरेको र चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेसँगै नेपाली उद्योगी, व्यवसायीहरू खुशी भएका छन् ।

चीनले कोरोनालगायत कारण देखाउँदै पटक-पटक नाकाबन्दी गर्दै आएको छ । नाकाबन्दीका कारण नेपाली व्यवसायीहरू मर्कामा परेका छन् । चीनको नाकाबन्दीका कारण नेपाली व्यवसायीहरूले आत्महत्यासमेत गरेका छन् ।

चीनले हालै मात्र आफ्ना नागरिकले घुम्नुपर्ने देशको सूचीमा समेत नेपाललाई राखेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले गत शुक्रबार आफ्ना नागरिकहरू घुम्न जाने देशहरूको सूचीमा नेपाललाई समावेश गरेको हो ।

यससँगै आगामी बधुबार (मार्च १५ तारिख) बाट चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्न सक्ने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले सूचनामार्फत बताएको छ ।

सूचनाअनुसार कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित अब पर्यटन एजेन्सीहरूले होटल, हवाइ टिकट लगायत व्यवस्थापन गर्न सक्ने छन् ।

योसँगै अब नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर